स्वर्गीय गायक अरुण थापाको कारुणिक जिवनकथा
कुनै वनभोज स्थलमा मनमोज गरिरहेका मानिसहरूको झुन्ड होस् या कुनै कलेजका युवा युवतीको गितार–भोज होस् या जीवनको कुनै झोलुंगे पुल पार गर्दै गरेको वियोगी यात्री किन नहोस्, तिनले धेरैपटक दोहो¥याई÷तेह¥याई गाउने गीत हो– ’जति माया लाए पनि, जति कसम खाए पनि ।’
सिल्की कपाल, चिम्सा आँखा, खिरिलो, पातलो शरीर अनि हिमाली सौन्दर्यको मुस्कान बोकेको मोहनी–मन्त्र फ्याँक्ने खालको । ऊ आफ्नो टिनएजमै सुकुमारी पोखराका गल्लीहरूमा एकाएक देखा पर्छ । ऊ हेर्दा जति आकर्षक र जादुयी थियो उसको अन्तर्यबाट निस्केको स्वरको टुना झनै जादुयी थियो । उसको स्वरलहरी जो–कोहीको मन–मुटुमा फैलिन्थ्यो । आवाजले नै मन्त्रमुग्ध गराउने त्यो व्यक्ति हो– अरुण थापा ।
विसं. १९६५ मा मोतीराम भट्टको गजल ’यता हे¥यो, यतै मेरा नजरमा राम प्यारा छन्’ आफ्नै स्वर र संगीतमा रेकर्ड गराएपछि ’सेतुराम श्रेष्ठ’बाट सुरु भएको नेपाली सुगम संगीतको सवा सय वर्षभन्दा लामो इतिहासका एक परिचायक हुन्, अरुण थापा ।
नसा र संगीतको पूर्वकथा
जनवरी महिना भनिए पनि आजसम्म जन्मको गते खुल्न नसकेका अरुण थापा विसं. २००९ सालमा भारतको कलकत्तामा जन्मिएका थिए । तत्कालीन भारतीय महावाणिज्य दूतको सहयोगमा उनका बुवा गुञ्जमान थापा नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा जागिर खान काठमाडौं आउँदा अरुण मात्र तीन महिनाका थिए । शान्ति थापामगरको कोख र काखलाई उजिल्याउँदै धर्ती पदार्पण गरेका अरुण थापा भाइ पुरण थापा र बहिनी मुना थापाको दाजुको रुपमा जन्म लिएका थिए । उनकी सौतेनी आमाका तर्फबाट जन्मिएका किरण थापा पनि अरुण थापाका प्रिय भाइ मध्येका एक थिए ।
भाई किरण थापा अरुणको सांगीतिक जीवनको अन्त्यसम्म सँगै नै थिए । काठमाडौंको गणबहालबाट शिशु कक्षाको अध्ययन प्रारम्भ गरेका अरुणले पछि क्षेत्रपाटीस्थित जेपी हाइस्कुलमा प्राथमिक तहसम्मको अध्ययन गरे । प्राथमिक तहको अध्ययन पछि असाध्यै चकचके र छुक्छुके व्यवहार सहन नसकेपछि उनलाई राम्रो शिक्षा प्राप्त गरुन् भन्ने उद्धेश्यले उनका बुवा गुञ्जमानले दार्जिलिङको प्रसिद्ध टर्नबुल हाइस्कुलमा भर्ना गरिदिएका थिए ।
कक्षा ९ सम्म त्यहाँ अध्ययन गर्दा अरुण थापा पढाइको होइन, संगीतको लती बनिसकेका थिए । गितारका कर्ड्सहरू राम्ररी फिट्न सक्ने भइसकेका थिए । संगीतको संगतले पढाइ बिग्रिने देखेपछि फेरी उनका बुबाले उनलाई २०२६ सालमा काठमाडौं ल्याए । त्यसपछि उनी काठमाडौंको जुद्धोदय हाइस्कुलमा कक्षा ९ मा भर्ना भए र त्यसको दुई वर्षपछि उनले मध्यम श्रेणीमा एसएलसी पास गरे ।
पहिलो पटक नेपाल बैंकले पोखरामा क्षेत्रीय शाखा खोल्दा उनका बुबा ’नेपाल बैंक लिमिटेड पोखरा’का क्षेत्रीय महाप्रबन्धक बनेर पुगेका थिए। अरुणको सिंगो परिवार पोखरा पुग्यो । उनी मानविकी अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । त्यहीँबाट प्रारम्भ भयो, उनको सांगीतिक जीवनको अनुष्ठान ।
अरुणका बुवा गुञ्जमान पनि राम्रा तबलावादक थिए । साहित्यकार सरुभक्त भन्छन्, ’पोखराको पालिके चोकस्थित नेपाल बैंकको आवासमा हुने जमघटमा उनका बुवाले तबला बजाउथे र अरुण र अरूहरू गीत गाउँथे । अरुणको संगीतको विरासत उनको घरको वातावरण नै हो । त्यही निवासमा नै अरुणले ’जति माया लाए पनि’मा धुन फुराएका थिए।’
पोखरा ः एक मोड
त्यसपछिका दिनहरुमा अरुणले पोखरामा भेटिए, सरोजगोपाल वज्राचार्य – जसले केही वर्षअघि मात्र तत्कालीन राजा महेन्द्रको करबाहुलीबाट सम्मान पाएका थिएः ’देउराली उकाली चढेर’ गीत गायनका लागि ।
उनीसँगै भेटिए, सरुभक्त । जसले पोखरालाई काव्यिक, साहित्यिक, सांस्कृतिक र सांगीतिक बनाउने सपना देखेका थिए । अनि सँगै भेटिए विनोद गौचन, विक्रम गुरुङ, विनोद र विश्वशंखर पालिखे । तिनैसँग मिलेर विसं. २०३४ सालमा स्थापना भयो पोखरेली युवा सांस्कृतिक परिवार, जसको संस्थापक सदस्य बन्न पुगे अरुण थापा र अध्यक्ष बने सरोजगोपाल ।
पोखराको काव्यिक र सांगीतिक अनुगुञ्जनले अरुणलाई सेतीको गहिराइभन्दा पनि अझै गहिरो प्रभाव पा¥यो । २०३५ सालमा सरुभक्तको नाटक मञ्चन र विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने गरी ’विविध सांस्कृतिक कार्यक्रम’आयोजना भयो पोखरामा ।
त्यहीं कार्यक्रममा अरुण थापाले विनोद गौचनको शब्द र आफ्नै संगीतमा ’जति माया लाए पनि...’ र आफ्नै शब्द–संगीतमा ’यो ज्यानलाई कम्ती पीर परेछ, त्यो काली त पोइला गई मरेछ’ जस्ता गितहरु पहिलो पटक गाए र यही गितबाट हिट पनि भए । दोस्रो गीत रेकर्ड भएन ।
पोखराका तात्कालीन प्रतिभाशाली युवाहरू साहित्यकार सरुभक्त, गीतकार विनोद गौचन, गायक सरोजगोपाल बज्राचार्यलगायतसँग उनको संगत भए लगत्तै यता बुबाको सम्पर्कबाट स्थापित संगीतकारहरू नातिकाजी, शिवशंकरलगायतसँग पनि उनको सम्बन्ध बढ्दै थियो।
त्यस समय यिनै साहित्यकार, गितकार र संगितकारहरु मिलेर पोखरेली युवा साँस्कृतिक परिवार गठन भयो । त्यही संस्थामार्फत् थापाले पोखरामा स्टेज कार्यक्रममा आफ्नो स्वरको जादू देखाउन थाले । उनीे श्रोतामाझ यति प्रिय बने कि उनी छोटो समयमै आम नेपाली श्रोताको ढुकढुकी बन्न सफल भए ।
२०३० को दशकको मध्यतिर पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले गरेको एक कार्यक्रममा उनले प्रसिद्ध गायक मोहम्मद रफीले गाएको लोकप्रिय गीत ‘मेरा जीवन कोरा कागज कोरा ही रहे गया...’ गाएपछि एउटी युवतीले उनलाई प्रेम प्रस्ताव राखिन् । उनलाई प्रेम प्रस्ताव राख्ने युवती थिइन्, राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य सचिव विनोदशंकर पालिखेकी बहिनी बिमला पालिखे । अरुणले ती युवतीको प्रेम प्रस्ताव सहजै स्वीकार पनि गरे । आखिरमा तिनै युवतिको पे्रम प्रस्ताव स्वीकार गर्नु नै गायक अरुण थापाको जिवनमा ठुलो भुल भयो ।
२०३४ सालको माघ महिनामा बिमलासँगको प्रेम विवाहमा परिणत त भयो । उनीसँग भागी विवाह गरे । अरुणका मीत गायक ओमविक्रम विष्टलगायत केही नजिकका साथीहरुको जमघटमा पशुपति गुह्येश्वरीमा उनीहरूले विवाह गरे । तर बिमलाको परिवारले यसलाई मनपराएन । रमाइलो भनौं या नरमाइलो भनौं पोखरा बस्दा उनले धेरै गीत गाउनुमा सबैभन्दा बढी योगदान उनकी प्रेमिका विमलाको थियो । अरुण थापा मगर अनि विमला नेवार । जातकै कुरा नमिलेर परिवारले विवाह गर्न नदिएपछि उनले विमलालाई भगाएर काठमाडौं लिएर आए । त्यो थाहा पाएपछि विमलाका बाबुले अरुणलाई मार्नको लागि पोखराबाट रकी सिंह भन्ने मान्छे काठमाडौं पठाए । विमलाका बाबुले अरुण थापालाई मार्न मान्छे पठाएको भन्ने कुरा विमलाका दाइ विश्वले थाहा पाए । त्यसपछि विश्वले ‘मार्नु हुँदैन, म अरुणलाई सम्झाउँछु’ भनेर विमलाको विवाह धुमधाम सँग अरुणसँगै गरिदिने तर अहिले घर जान दिउँ भन्दै विमलालाई छुटाएर पोखरा पुर्याए । परिवारले युवतीलाई फिर्ता लग्यो । धूमधाम बिहे गरिदिने वाचाका साथ छुट्याइएकी युवती विमलाको विवाह भोजपुरमा अर्कै केटासँग गरिदिए । को अर्कैसँग विवाह गरिदिए । यसरी विमलाको विवाह भएपछि अरुण धेरै विरक्तिए । लामो समय विरक्तिएरै हिँडे ।
विमला सँग विछोडको पिडाले अरुण विरक्तिएर झन्डै बहुलाए । हरपल हरक्षण उनै विमलाको यादमा डुविरहन्थे । विमला फर्केर आउँछन्की जस्तो लाग्थ्यो । तर कैयौं दिनहरु ढलेर साँझ मा परिवर्तन हुन्थ्यो विमला आउँदैनथे । रातीको ताराहरु विलीन हुञ्जेल सम्म पनि अरुण ननिदाईकन टोलाएर बस्थें । तै पनि विमला कहिल्यै उनको जिन्दगीमा फर्केनन् । त्यस पछि स–परिवार काठमाडौं फर्किएका अरुण प्रेम वियोगकै कारण नशालु पदार्थका लती भए । उनले आफू जुन र जस्तो जीवन बाँचे, त्यस्तै गीत मात्र छाने र गाए अनि लोकप्रिय पनि भए । अझ भनौं बिमलासँगको बिछोडपछि उनी निकै भावुक र विक्षिप्त जस्तै बने र विरहका गीतहरू नै बढीजसो गाउन थाले ।
तिमी हेर्छौ भने यो जिन्दगीमा नदेखिने घाउ धेरै धेरै छन्
–लाग्न थाल्यो जिवनमा मेरो कथा यस्तो
चोट के हो व्यथा के हो
प्रेम वियोग पछी अरुणको जिवनमा चोट माथी चोट थपियो । रक्सी र गाँजाको लतमा भुल्न खोज्दा घरनजिकैको मदिरालय नै उनका लागि मन्दिर जस्तो बन्यो । साँझ–बिहान त्यहीँं धाउन थाले उनी । त्यही धाममा उनको पीडामा मल्हम लगाईदिने एक देवी भेटिइन् । उनको नाम थियो मुना के.सी. । प्रेम वियोगको पीडाले अर्को प्रेम जन्माइदियो । अरुणले मुना केसीसँग अर्को प्रेमविवाह गरे । त्यसपछि २०३७ सालमा उनका पिता गुञ्जमान थापाको क्यान्सरबाट मृत्यु भयोे, २०३९ सालमा आमाको मृत्यु भयो । त्यतिखेर सुपुत्रीको रूपमा करुणा थापाको पनि जन्म भइसकेको थियो । अरुण थापाको काँधमा पारिवारीक जिम्मेवारी झन् बढी आई प¥यो । बुवाको विरासत ढलेपछि अरुण थापाले बुवाले जोडेको झम्सिखेल–२ को घर बेचे । पैसा जोगाउन सकेनन् । त्यो पैसाको मातले झन् कुलतमा फसे । त्यसपछि अरुणले सानेपास्थित स्वास्थ्यचौकीनिर जग्गा किने तर घर बनाएनन् । पाटनको नःटोलमा डेरा गरी बस्न थाले । पत्नि मुनाको नाममा रहेको जग्गा पनि बेच्न बाध्य भए । त्यसपछी उनको जिवन झन् अव्यवस्थीत हुन पुग्यो । यिनै कारणले पत्नी सँगको सम्बन्धमा पनि चिसोपना आउन थाल्यो । अन्ततः दोश्रो पत्नी मुनासँग पनि उनको सम्बन्ध माथी आकाशमा चङ्गाको डोरी चुडेर चङ्गा एकातिर अनि धागो ्अर्कातिर भए झैं चुँडिन पुग्यो ।
अरुणको जीवनमा साथीको रूपमा देव लामा र किसन आए, जो लागूऔषधका कारोबारी थिए । ब्राउन सुगर बेचबिखन र प्रयोगको अभियोगमा २०४५ सालमा अरुण र देव पक्राउ परे । तर किसन भने फरार भए । तीन वर्ष नख्खु जेल र सदरखोरको जेल बसेपछि उनी रिहा त भए तर नशाको क्रुर झ्यालखानाबाट कहिल्यै मुक्त हुन सकेनन् । फेरि अरुणको जीवनमा नमस्ते ब्यान्डका राजु थापा उर्फ भुन्टेहरू थपिए, जसले आफूमात्रै होइन, अरुणलाई पनि कहिल्यै नशाबाट उत्रन दिएनन् । त्यसपछिका दिनमा पनि नशा मेटाउन र नशा भेटाउन अरुणले गीत भने गाइरहे ।
२०४५ सालसम्म आइपुग्दा अरुण थापाका दर्जनौं गीतहरु सुपर हिट भइसकेका थिए ।
(सपनाभन्दा सम्झना मीठो हुन्छ, कसैलाई पर्खंदा,
सबै नै बिर्सिदिन्छु कहिलेकाहीँ तिमी नजिक भैदिँदा)
मगर भाषाको फिल्म ’लिसरा’ का निम्ति निर्देशक तथा गीतकार सञ्जोग लाफामगरले यो गीत २०५१ सालमा रेकर्ड गराए तर यो तथ्य यसै लेखमार्फत पहिलोपटक सार्वजनिक हुँदैछ । ’अरुण’ र ’बेस्ट अफ अरुण थापा’ नामक दुईवटा मात्र गीति एल्बम सार्वजनिक गरेका अरुण थापाले जम्माजम्मी ४४÷४५ वटा मात्रै गीत गाएका छन् ।
अरुण थापाको पहिलो एल्बम ‘अरुण’ म्युजिक नेपालले निकालेको थियो । त्यसको विमोचन लाफा मगर भाइहरूले शंकरदेव क्याम्पस अगाडिको लाफा भवन मै गरे । २०५३ वा ५४ सालको भदौ महिनामा अरुणको एल्बम विमोचन हुँदै थियो । प्रमुख अतिथि बैरागी काइँला थिए । लामो समय पर्खिँदा पनि अरुण आएनन् । बैरागी काइँलाले भगवानलाई पर्खेको जस्तो अब नपर्खौं भने । घडी हेरेँ, मध्यान्हको २ बज्न लागेको थियो । यो त अरुणको पिउने समय थियो । त्यसपछि अरुणको अनुपस्थितिमै उनको एल्बमको विमोचन भयो । कार्यक्रम सकियो । बेलुकी घर आएपछि थाहा भयो, अरुण त विमलाको घर अगाडि बेहोस हालतमा लडिरहेको थियो । त्यसपछि अरुण कहिले लागू औषध पुनर्स्थापना केन्द्रमा त कहिले कहाँको गल्लीमा लडिरहेको अवस्थामा फेला पर्न थाले । त्यतिबेला अरुणको बारेमा कसैले चासो राख्ने अवस्था नै भएन ।
गीतका शब्द छनोट, संगीतको फरकपन, माधुर्य र उनको युनिक आवाज अरुणको पहिचान हो ।
’संगीत सिर्जना भनेको एकअर्कोबाट धुनलाई छल्नु हो’, भजन शिरोमणि भक्तराज आचार्यको यो भनाइमा अरुण थापा सफल छन्। आफ्नै गीतमा आफैंले धुन छलेका अरुणले विभिन्न ताल, लय र स्केलमा गीतहरू गाएका छन्।
तत्कालीन समयका धेरै गुणकारी गीतकारका गीतमा आफ्नै र थोरै अरूको मात्र संगीतमा सम्मोहनकारी आवाज भरेका अरुणका गीत, भोकल, कर्ड, गला र कला विश्वस्तरका छन् भन्ने प्रमाण सन् २००३ को बीबीसी विश्व–सेवाले गरेको विश्वव्यापी गीत सर्वेक्षणमा उनको गीत ’ऋतुहरूमा तिमी हरियाली बसन्त हौ’ सातौं स्थानमा पर्नुले पनि पुष्टि गर्दछ ।
हिजोआज गितार फिट्न जान्ने र नजान्ने हरेक युवायुवतीका नम्बर एक रोजाइका गायक हुन्, अरुण थापा । अरुण थापा आज सबैको ओठमा मात्रै होइन, मनभित्र नै छन् किनभने उनले सबै गीत मनबाट नै गाएका छन् ।
कान्तिपुर गेस्ट हाउस
काठमाडौं बागबजारको खसी बजार, जसको उत्तरपट्टि शंकरदेव क्याम्पस छ। त्यसको छेउमा इच्छुमति (हाल टुकुचा) खोला बग्छ। त्यसको छेउमा प्रसिद्ध संगीतज्ञ भगतसिंह वाग्दासको घर छ, जसका छोरा हुन्, प्रसिद्ध संगीतकार द्वय राजु सिंह र कल्याण सिंह। उनैको घरको छेउमा थियो, कान्तिपुर गेस्ट हाउस । उनले आफ्नो जीवनको पछिल्लो कालखण्ड त्यही होटेलको एउटा कोठामा बिताएका थिए। त्यो कोठाको भाडा विशेषगरी पोखराबाट आउने नयाँ संगीतकर्मी भाइहरूले तिरिदिन्थे, त्यसको बदलामा अरुण थापाले आफूले संगीत गरेका धुन उनीहरूलाई बेच्थे । जीवन खराब सपनाहरूको सागर हो, जहाँबाट तैरिनै सकिन्न । अरुण थापा त्यस्तै भए ।
कान्तिपुर गेस्ट हाउसको एउटा दुर्गन्धित कोठामा सुगन्धित स्वरको अन्त्य हुने बेलासम्म उनलाई उनका आफन्त, परिवार, समाज, सांगीतिक क्षेत्र र राज्यले समेत उद्धार गर्न सकेन । कसैले गरेका उद्धारका कार्य पनि असम्भव नै भए । उनले गीतका त्यान्द्रामा नसा घोलिरहे । नसाको लहडमा गीत घोलिरहे । गीत र नसामा आफैंलाई बिर्सिरहे । २०५२ साल मंसिरमा आयोजना भएको एकल साँझमा ठडिँदा पनि नशाको लैबरीमा उनले गाए । कार्यक्रम सुरु हुने बेलाभन्दा अघि उनी दुई घन्टा ट्वाइलेटमा हराएका थिए । अरुणले अन्य जति सांगीतिक कार्यक्रममा सहभागिता जनाए, त्यहाँ उनले नशालाई अघि र आफूलाई पछि लगाएर प्रस्तुत भए । र त उनले नशाकै शुरमा गाए ः भुँलु भुँलु लाग्यो मलाई सपनीमा मीठो लाग्दैन बिपनी, रोजुँ रोजुँ लाग्यो मलाई अँधेरी नै मीठो लाग्दैन उजेली’
फलतः अरुण थापा जीवनमा तीन चीजको लती बनेर गएः सुर, सुरा र सुन्दरी (आफ्नी प्रेमिकाको हकमा मात्र)
२०५६ साल साउनको एकदिन नमस्ते स्टुडियोमा गीत रेकर्डिङ्को क्रममा प्रकाश शायमी र अरुणको भेट भयो। त्यहाँ भेट्दा अरुणले भन्यो, ‘साथी, मेरो स्वास्थ्य नि ठीक छैन। मलाई पैसा पनि चाहिएन। मेरो लागि १० दिनको उमेर मागिदिनू। म एउटा गीत रेकर्ड गर्न चाहान्छु।‘ त्यतिबेला एउटा नयाँ गायिका थिएन् सुनिता भन्ने। सुनितासँग एउटा युगल गीत गाउन चाहन्थे अरुण। त्यो गीतको बोल ‘जीवन यस्तै रै’छ भने फेरि एकपल्ट हाँस्न पाऊँ’ भन्ने थियो। यो गीत गाउन पाएँ भने म आफू आनन्दले मर्न सक्छु भन्थे उनी। तर उनले त्यो गीत गाउन पाएनन् ।
त्यसको भोलिपल्टै उनी बिरामी भए। पब्लिक गेस्टहाउसमा बस्थे उनी। त्यहीं उनी थला परे। त्यसपछिका चारदिन उनका लागि सारै कष्टकर भए। बिरामी भएको चौथो दिन उनको देहान्त भयो । अरुण थापा जीवनको उत्तराद्र्धमा निकै गलिसकेका, विक्षिप्त र कमजोर बनिसकेका थिए । बागबजारको एउटा गेष्ट हाउसमा बस्दै आएका थापा लागूऔषध सेवनकै कारण हेपाटाइटिस बि, कलेजोको रोग तथा पेटको अल्सर समेत भएका गायक अरुण थापा २०५६ साल साउन ५ गते यस संसारबाट बिदा भए । उहाँको कारुणिक निधन भएका दिन रेडियो नेपालमा दिनैभरी चोट के हो व्यथा के हो बजी नै रह्यो गुञ्जी नै रह्यो । चोट के हो व्यथा के हो ?
लेखकः ईराज लामा
यापर मञ्जली तामाङको 'चेन्ज माइ नेसन'
र्यापर मञ्जली तामाङको 'चेन्ज माइ नेसन' (Change My Nation) र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । यो गीत नेपाली हिपहपको इतिहासमा एउटा नयाँ र
हरित नगर इलाम
लौ हेर रमाएर आयो सुनौलो बिहानी सुनौ हामी सबै अब हरित नगर इलामको कहानी हरियाली नै हरियालीले भरिएको चियाबारी नै चियाबारीले ढाकिएको माईखोलाको माथी
बाँकेमा रासायनिक मल अभाव
बाँकेमा रासायनिक मलको अभाव भएको छ । धान खेतीलाई आवश्यक पर्ने बेला युरिया मलको अभाव भएको हो । जिल्लामा मल वितरण गर्ने कृषि सामग्री कम्पनी र साल्ट



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस