२६ दिनपछि डाक्लाङमा ट्र्याक खुल्यो, तातोपानी नाका अझै सञ्चालनमा आएन

सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका जोड्ने बाह्रबिसे–तातोपानी सडकअन्तर्गत डाक्लाङ खण्डमा २६ दिनपछि बिहीबार एकतर्फी रूपमा ट्र्याक खोलिएको छ। स्थानीयवासी, जनप्रतिनिधि, सडक डिभिजन कार्यालय तथा ढुवानी व्यवसायीको समन्वयमा पहिरो पन्छाएर सडकमा आवागमनका लागि अस्थायी ट्र्याक खोलिएको हो।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाका अनुसार सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन प्रयोग गरिएको थियो। इलेक्ट्रो हाइड्रोपावर, आडो र सिल्क ट्रान्सपोर्टले डिजेल तथा आवश्यक सवारीसाधनलगायत सहयोग उपलब्ध गराएका थिए।

सापकोटाले डाक्लाङ सडक खुलाउन प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुली, स्थानीय सरकार, सडक डिभिजन कार्यालय चरिकोट, विभिन्न संघसंस्था र स्थानीयवासीले सक्रिय भूमिका खेलेको बताए। उनका अनुसार लामो समयपछि सडकको उक्त खण्डमा ट्र्याक खुले पनि नाका पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै समय लाग्ने देखिएको छ।

सडक डिभिजन चरिकोटका प्रमुख वरिष्ठ इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार मंगलबारदेखि सडक मर्मत तथा पहिरो पन्छाउने काम सुरु गरिएको थियो। चारकिलो पहिरोमाथिको पन्थली तथा इको पहिरोमाथिको कोदारी गाउँका बासिन्दासँग चरणबद्ध छलफल गरी बस्तीको सुरक्षालाई प्राथमिकतामा राखेर सडक खुलाउने काम अघि बढाइएको उनले बताए।

भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा सडक भासिएको तीन साताभन्दा बढी भइसकेको छ। त्यस्तै, लिपिङमा नयाँ पहिरो खसेपछि तातोपानी नाकाबाट हुने आवतजावत अझै अवरुद्ध छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले वर्षा कम हुँदै गएकाले बाँकी अवरोध पनि छिट्टै हट्ने र दसैंका लागि आवश्यक सामान आयात गर्न सकिने व्यवसायीको अपेक्षा रहेको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय राजमार्ग लामो समयदेखि बन्द हुँदा सीमावर्ती क्षेत्रका व्यापार–व्यवसाय प्रभावित हुनुका साथै स्थानीयवासीले राज्यको उपस्थिति कमजोर महसुस गरिरहेका छन्।

बस्नेतले सडक डिभिजन चिनियाँ कम्पनीको प्रतीक्षामा बस्दा सडक सञ्चालनमा ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरे। रसुवा नाकातर्फको सडकसमेत कमजोर बनेपछि व्यवसायीहरू थप समस्यामा परेको उनको भनाइ छ।

यसैबीच, बिहीबार बिहान चीनतर्फ न्यालम नजिक ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। नदीमा पहिरो खस्ने क्रम जारी रहेकाले जुनसुकै बेला पानीको बहावमा परिवर्तन आउन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

डाक्लाङमा ट्र्याक खुले पनि इकोमा सडक भासिएको र लिपिङमा पहिरोका कारण तातोपानी नाका अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्यसैले नेपाल–चीनबीचको व्यापारिक आवागमन नियमित बनाउन बाँकी अवरोध हटाउनु मुख्य चुनौती बनेको छ।

प्रतिकृया दिनुहोस

अविरल वर्षापछि अवरुद्ध २१ किलो–अत्तरपुर–लिसंखु सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध भएको २१ किलो–अत्तरपुर–लिसंखु सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। हिजो परेको लगातारको वर्षाका कारण २१ किलो

विश्व आदिवासी दिवस: अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

ठोकर्पामा सामुदायिक वन दिवस: अध्यक्ष तिमल्सिनाको प्रमुख आतिथ्यतामा वृक्षारोपण सम्पन्न

सामुदायिक वन अध्ययन केन्द्र ठोकर्पाको आयोजनामा सामुदायिक वन दिवस २०८३ को अवसर पारेर विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ​वातावरण संरक्षण र